सुपथ मूल्य पसल सञ्चालन

दैलेख : दैलेखमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय दैलेखले जिल्ला स्थित शाखा कार्यालयबाट दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबार देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

कम्पनीका शाखा कार्यालय प्रमुख रवीन कुमार रेग्मीले लक्षित वर्गसम्म सेवा पु¥याउने गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए । ‘चाड पर्वको समयमा खाद्यान्नको अभाव नहोस् भन्ने उदेश्यले सुपथ मूल्यपसल सञ्चालनमा ल्याएका हौं । यसबाट नागरिकले साविकको मूल्य भन्दा कम मूल्यमा खाद्यान्न पाउने छन्,’ कार्यालय प्रमुख रेग्मीले भने ।

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा चाडपर्वको अवसरमा जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरिएको जनाइएको छ । सुपथ मूल्य पसलबाट नागरिकले अरु वा मोटो चामल साविकको मूल्य भन्दा पाँच रुपैयाँ सस्तोमा पाउने छन् । अरु वा मोटो चामललाई साविकमा प्रति किलो ६४ रुपैयाँ पर्दै आएकोमा छुटपछि ५९ रुपैयाँ पर्नेछ ।

यसैगरी, नागरिकले अरु वा मध्यम चामल प्रति किलो ६१ रुपैयाँमा पाउने छन् । साबिकमा प्रति किलो ६६ रुपैयाँ पर्ने उक्त चामलमा सुपथ मूल्य पसल सञ्चालन अवधिमा पाँच रुपैयाँ छुट दिइएको हो । अरुवा सोना मन्सुली चामल प्रति किलो ६१ रुपैयाँमा बिक्री हुने कार्यालय प्रमुख रेग्मीले बताए । साबिककमा प्रतिकिलो ६६ रुपैयाँ पर्ने उक्त चामलमा पाँच रुपैयाँ छुट दिइएको छ । स्टिम जिरा मसिनो चामल छुट पछि प्रतिकिलो ९१ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार